फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा पनि भारतीय लगानीको तयारी

सुर्खेत । सरकारले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा पनि भारतीय लगानी भित्र्याउने तयारी गरेको छ ।
सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीसँग मिलेर आयोजना बनाउने गरी सरकारले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडमार्फत लगानी ल्याउन लागेको हो ।
यो कम्पनीले पश्चिम सेती जलविद्युत आयोजनामा लगानी गर्न नेपाल आएको कम्पनी हो भने सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमतिपत्र पनि माग्दै लगानी बोर्डमा आवेदन दिएको छ ।
यो कम्पनीलाई फुकोट कर्णालीमा सहलगानीका लागि भित्र्याउन समझदारीपत्र (एमओयू)को मस्यौदा तयार भइसकेको छ ।
यदि प्रस्ताव बमोजिम एमओयू भए विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडा हुने छ । त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढ्नेछ ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार विद्युत उत्पादन कम्पनीले समझदारीपत्रको मस्यौदा मन्त्रालयमा पठाइसकेको छ ।
मन्त्रालयले समझदारीको मस्यौदालाई अन्तिम रुपमा दिएर एनएचपीसीसँग छलफल अघि बढाउने बताएको छ ।
भारतीय कम्पनी एनएचपीसीले पनि सार्वजनिक रुपमै फुकोट कर्णालीमा लगानीका लागि सम्झौता गर्न नेपाल सरकारलाई समझदारीपत्रको मस्यौदा पठाइसकेको बताउँदै आएको छ ।
गत वर्ष चैतमा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रअनुसार सरकारी स्वामित्वका संस्थाहरुको संयुक्त लगानीमा फुकोट कर्णाली अर्ध जलाशययुक्त परियोजना अगाडि बढाउन लागिएको मन्त्रालयले जनाएको छ ।
समझदारीपत्रको मस्यौदाअनुसार आयोजनाबाट नेपालले मासिक रुपमा २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ ।
आयोजनामा विद्युत उत्पादन कम्पनीको ४९ र एनएचपीसीको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी प्रस्ताव गरिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार र आयोजना बनाउन आवश्यक ऋणको प्रबन्ध प्रबर्द्धक कम्पनीकातर्फबाट एनएचपीसीले नै गर्नुपर्ने मस्यौदामा उल्लेख छ । आयोजनाको बिजुली नेपालले आफैं खपत गर्न चाहेमा किन्ने अधिकार रहनेछ । नेपालले खपत गरेको अवस्थामा मात्रै आयोजनाको बिजुली निर्यात हुनेछ । आयोजनाको लाइसेन्स खर्च र अध्ययन र पहुँचमार्ग लगायतमा भएका खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पूँजीकरण गर्न प्रस्ताव गरिएको छ ।