विद्युत पोल गाडेको पाँच बर्ष पुग्यो, बत्ती बलेन

जाजरकोट । पोल गाडेको पाँच वर्ष भइसक्दा पनि जाजरकोट कुशे गाउँपालिकाको अधिकांश ठाउँमा विद्युत सेवा उपलब्ध गराइएको छैन ।
३३ केभी प्रशारण लाइन कुशेमा पु्याउनका लागि नेपाल विद्युत प्रद्यिकरणले पाँच वर्षअघि वोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे –५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् ।
साइ बाबा एण्ड तारा कन्टक्सन खलङ्गा–२ ले पालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रशारण लाइन निर्माण गर्न आव २०७५÷७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन । अहिले गाडिएको पोल जीर्ण अवस्थामा छन् भने तार छरिएर अलपत्र छन् ।
दुई ठाउँबाट विद्युत लिनका लागि काम सुरु भएको पाँच वर्ष वितिसक्दा आधा काम पनि नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् ।
छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिकाभर विद्युतीकरण गर्ने उद्देश्यसहित प्राधिकरणले ठेक्का लगाएकामा हालसम्म २० प्रतिशत मात्र काम भएको छ ।
बाटुल्ले बजारदेखि साधिविस्यौनासम्म तार ठाउँ–ठाउँमा थुपारेर फाँकिएको अवस्थामा रहेको स्थानीय जनक चन्दले बताउनुभयो ।