
पौष १४,सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेश सरकारलाई दिन संघीय सरकारसँग पुनः पत्राचार गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले उक्त निर्णय गरेको हो।

प्रदेश सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिधै स्थानीय तहमा हाकिम पठाउने व्यवस्था परिमार्जन गरी संघले एकमुष्ट रूपमा प्रदेशमा पठाउने र प्रदेश सरकारले आवश्यक स्थानमा खटाउने व्यवस्था गर्न माग गरेको छ। यसले प्रदेशको प्रशासनिक स्वायत्तता बलियो हुने अपेक्षा गरिएको छ।
बैठकले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तीव्र पार्ने, नेपाल टेलिभिजनको प्रसारण कार्यालय सुर्खेतमा स्थापना गर्ने, कर्मचारीको बिदा तथा उपदान भुक्तानीका लागि बजेट व्यवस्था गर्ने लगायतका निर्णयसमेत गरेको छ।
