कर्णाली प्रदेशमा यो बर्ष शैक्षिक सत्रको शुरुवातमै पाठ्यपुस्तक पु¥याइने

सुर्खेत । कर्णाली प्रदेशमा यो बर्ष शैक्षिक सत्रको शुरुवातमै पाठ्यपुस्तक पु¥याइने भएको छ ।
गत वर्ष वार्षिक परीक्षाको समयसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । तर यसवर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्नेगरी तयारी भएको हो ।
जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेको जनाएको छ ।
कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको केन्द्र प्रादेशिक कार्यालय प्रमुख भैरवबावु पन्तले बताउनुभयो ।
यता, जुम्लामा पाठ्यपुस्तक पुगेका छन् ।
सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै सामुदायिक विद्यालयमा समयमै किताब पु¥याउन थालिएको हो ।
आवश्यक किताब जिल्लामा आइपुगेको जुम्लामा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो ।
कक्षा १ देखि १० सम्मका करिबसात सय थान किताब आइसकेका छन् । हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार किताब पुगेको उहाँको भनाइ छ ।
तातोपानी गाउँपालिकाले पनि किताब माग गरेको छ । अरू पालिकाबाट पनि माग आउन थालेको र थप किताब पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो ।
हुम्लामा पनि पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।
शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका हुन ।
सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ ।