पदाधिकारी तथा कर्मचारीहरूको नाममा रहेको बेरुजु असार महिना भित्रै असुल उपर गर्न कर्णाली प्रदेशको लेखा समितिको निर्देशन

सुर्खेत, १५ असार । कर्णाली प्रदेशको लेखा समितिले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका बेरुजु र त्यसको फर्छ्यौट असार महिना भित्रै असुल उपर गराउने निर्णय गरेको छ । बिहीवार सुर्खेतमा बसेको बैठकले पदाधिकारी तथा कर्मचारीहरूको नाममा रहेको बेरुजु असार महिना भित्रै असुल उपर गराउने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकार र सरकार मातहतका कार्यालयहरूमा नियमित बेरुजु, असुल उपर बेरुजु र पेश्की बेरुजु भएको देखिएको छ । त्यसमा असुल उपर गर्नु पर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ बराबरको रहेको महालेखापरीक्षकले जनाएको छ ।
यो भनेको उपभोक्ता समिति, ठेकेदार पदाधिकारी र कर्मचारीहरूको नाममा रहेको छ । सुरुवाती चरणमा तत्कालै उठाउन सकिने भनेको पदाधिकारी र कर्मचारी सँग हो । समितिले पदाधिकारी र कर्मचारीहरूको तलब भत्ताबाट कटौती गरी असुल उपर गर्न निर्देशन दिएको छ ।