सेवालाई थप प्रभावकारी बनाउन सिम्ता गाउँपालिकाको छ बुँदे प्रतिबद्धता


सुर्खेत, १५ असार ।
सिम्ता गाउँपालिका सुर्खेतले सार्वजनिक सेवा, योजना तथा कार्यक्रम कार्यान्वयन र विकास निर्माणलाई थप प्रभावकारी बनाउ छ बुँदे प्रतिबद्धता गरेको छ ।
जागरण एफ.एम.को सहजीकरणमा गाउँपालिकाले विहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा सहभागीहरुका गुनासा, जिज्ञासा एवं सुझावलाई ग्रहण गर्दै आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको हो । सहभागीहरुले शिक्षाको गुणस्तरीयता बृद्धि गर्नृपर्ने, कृषि उपज बजारीकरण तथा उत्पादनमा गाउँपालिकाले अनुदान दिनुपर्ने, रोजगारी सिर्जना गर्ने खालाका नीति तथा कार्यक्रम बनाउनुपर्ने,स्वास्थ्य शाखाले समयमै औषधि खरिद गर्नुपर्ने र त्यसलाई पारदर्शी बनाउनुपर्ने, कोटेशन विधिबाट विकास निर्माणका योजना सम्झौता गर्ने कार्यलाई निरुत्साहन गर्नुपर्ने, अपांगता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिकका लागि लक्षित वर्ग कार्यक्रम बढाउनु पर्ने तथा प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने विषयमा जिज्ञासा एवं सुझाव दिएका थिए । यस्तै महिला स्वास्थ्य स्वंसेविका र आमा समूहलाई प्रोत्सहानका कार्यक्रम ल्याउनुपर्ने, सिम्ता उज्यालो कार्यक्रमलाई विस्तार गर्नुपर्ने, लागू औषध दूव्यसनी, विभेद लगायतका विषयमा जनचेतना जगाउने कार्यक्रम ल्याउनुपर्ने, कृषकहरुलाई मलको उपलब्धता सम्बन्धी सहभागीले सुझाव दिएका थिए । सहभागीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै जवाफदेही वक्ताहरुले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने मौखिक तथा लिखित प्रतिबद्धता जनाएका छन् ।
सिम्ता गाउँपालिका अन्तर्गतका वडा कार्यालय र मातहतका सेवा प्रदायक कार्यालयहरुमा नागरिक वडापत्र व्यवस्था गर्ने, स्वास्थ्य संस्थाहरुमा निशुल्क पाइने औषधि नियमित रुपमा उपलब्ध गराउने, शिक्षामा गुणस्तर बृद्धि गर्न उचित कार्यक्रम बनाउने, पशु र कृषि शाखाबाट प्रदान गरिने प्राविधिक सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य स्वंसेविकाहरुका लागि प्रोत्सहान मूलक कार्यक्रम ल्याउने र लक्षित वर्ग कार्यक्रमलाई बृद्धि गर्नुका साथै थप प्रभावकारी बनाउने लिखित प्रतिबद्धता गरिएको हो । कार्यक्रमको प्रमुख जवाफदेही वक्ताका रुपमा रहनुभएका गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले सेवाग्राहीहरुले दिएका सुझावलाई ग्रहणगरी आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उपाध्यक्ष गोमा शर्मा रेग्मीले सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले सबैको समन्वय सहकार्य र सहभागितामा मात्रै गाउँपालिकाले लिएको ‘समृद्ध सिम्ता सुखी सिम्ताली’को आकांक्षा पूरा हुने भन्दै हातेमालो गर्न आह्वान गर्नुभयो । कार्यालयबाट हुने सेवा प्रवाहलाई आगामी दिनमा थप सरल छिटो छरितो र प्रभावकारी बनाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।