वीरेन्द्रनगर ११ को सार्वजनिक सुनुवाई सम्पन्न, सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता


सुर्खेत, १५ असार ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ को सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजना तथा कर्णाली मिडिया सेन्टरको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासा एवं सुझावहरुका आधारमा आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउनका लागि विभिन्न पाँच बुँदे लिखित प्रतिबद्धता गरिएको छ । वडा कार्यालयबाट प्रवाह गरिने सेवा तथा योजना कार्यक्रमका बारेमा वडावासीलाई जानकारी गराउने, वडाबाट प्रवाह गरिने सेवालाई प्रभावकारी एवं विकास निर्माणलाई थप गुणस्तरीय बनाउने, लागू औषध दूव्र्यसनी रोक्नका लागि विशेष कार्यक्रहरु सञ्चालन गर्ने, उपभोक्ता समिति गठन गर्दा लाभग्राही सबैलाई जानकारी गराई समावेशी बनाउने र वडाभित्रका सडक, नाला, कल्भर्ट, खानेपानी, विधुतको स्तरोन्नतीका लागि उचित पहल गर्ने प्रतिवद्धता गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले वडाका अधिकांस टोलमा खानेपानी समस्या रहेको, लागू औषध दूव्र्यसनी प्रयोग बढेको, सडक तथा नाला स्तरोन्नती नहुँदा समस्या भोग्नु परेको, वडाबाट हुने कार्यक्रम तथा गतिविधिका बारेमा प्रर्याप्त जानकारी नभएको लगायतका गुनासा गरेका थिए । सहभागीका जिज्ञासाको जवाफ दिँदै वडा अध्यक्ष खिमलाल देवकोटाले वडाको बजेटबाट मात्रै सबै आकांक्षा पूरा गर्न नसकिने यर्थात औँल्याउँदै वडाको विकास निर्माण लगायतका समस्या समाधानका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका निकायमा पहल गरिहेको बताउनुभयो । उहाँले सेवा प्रवाहका क्रममा भएका कमिकम्जोरीलाई सुधार गरेर आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा सदस्यहरु टोपलाल तिवारी, रत्न बहादुर चन्द, वडा सचिव प्रविन्नता कुमारी वस्नेत लगायतले सेवा प्रवाहलाई पारदर्शी प्रभावकारी एवं विकास निर्माणलाई गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा अन्तर्गतका टोल विकास संस्था, विभिन्न समूह, समिति लगायतका प्रतिनिधि एवं सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।