भगवतीमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न


सुर्खेत, २० कात्तिक ।
दैलेखको भगवतीमाई गाउँपालिकामा स्थानीय सरकार र नागरिक समूहबीच सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको सुशासन र विकासका लागि एकीकृत गुनासो सुनुवाई संयन्त्र ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रम अन्तर्गत आइतबार भगवतीमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सहकर्मी समाजले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा प्रमुख जवाफदेहिवक्ताका रुपमा सहभागी हुनुहुन्थ्यो । साथै उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्का, कार्यालयका विभिन्न शाखा प्रमुख,स्थानीय प्रहरी चौकी इन्चार्ज लगायत जवाफदेहीवक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा स्थानीय नागरिक अगुवा, विभिन्न समूह, सञ्जाल लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय सहभागीहरुले जग्गा रजिष्ट्रेशन कर तथा मालपोत कर महंगो तिर्नुपरेको, पहिरोले खानेपानी अवरुद्ध भएपनि खुलाउने प्रयास नभएको, कृषि उत्पादन विक्रिका लागि सडक नभएको, खेतियोग्य जमिन बाँझो हुँदै गएको तर रोजगारीका लागि नागरिकहरु भारत जाने गरेकोले त्यसलाई रोक्न गाउँपालिकाको योजना बारे प्रश्न गरेका थिए । जवाफमा गाउँपालिका अध्यक्ष थापाले २०७७ सालदेखि जिल्ला दररेट निर्धारण समितिले जग्गाको मूल्यांकन बढाएकाले रजिष्ट्रेशन शुल्क महंगो तिर्नु परेको यथार्थ स्वीकारगर्दै आफूले घटाउनका लागि पहल गरेको बताउनुभयो ।


यस्तै बजेट अभावमा सबै ठाउँमा सडक पु¥याउन नसकेको भन्दै कृषि उत्पादनको बजारीकरणका लागि ठूवानीमा अनुदान दिने गाउँपालिकाको कार्यक्रम रहेको जानकारी गराउनुभयो । यस्तै रोजगारी सिर्जना, बाँझो जमिन प्रयोगका लागि गाउँपालिकाले उचित योजना बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । कर्णाली प्रदेश सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित हाम्रा कुरा हाम्रा मुख्यमन्त्री गुनासा सुनुवाई संयन्त्रमा प्रदेशका सबै नागरिकले गुनासा दर्ता गराउन सक्ने सहकर्मी समाजका कार्यक्रम संयोजक खड्गप्रसाद शर्माले बताउनुभयो ।