वीरेन्द्रनगर ८ मा ‘लालटिन समूह’ गठन


सुर्खेत, २० कात्तिक ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको लागू औषध बिरुद्धको ‘लालटिन अभियान’ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा लालटिन समूह गठन गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष टिकाराम शर्माको संयोजकत्वमा ११ सदस्यीय लालटिन समूह गठन गरिएको हो । वडा स्तरीय लालटिन समूहमा सबै वडा सदस्य, नागरिक समाजबाट प्रतिनिधि, स्थानीय सामुदायिक र संस्थागत विद्यालयबाट एक एक जना प्रतिनिधि, स्थानीय पत्रकार, स्थानीय प्रहरी प्रमुख सदस्य तथा वडा सचिव सदस्य सचिव रहने व्यवस्था छ । वडाप्रहरीले सुरु गरेको लागू औषध बिरुद्धको अभियानमा नागरिक समूहका तर्फबाट आवश्यक सबै सहयोग गर्ने संयोजक शर्माले बताउनुभयो । कार्यक्रममा उपस्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक मिलन पाण्डेले लालटिन अभियान अन्तर्गत प्रदेश, जिल्ला, पालिका, वडा र विद्यालय तथा कलेजहरुमा समूह गठन गर्ने कार्ययोजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार लालटिन समूहले वडाभित्र लागुऔषध बिरुद्ध अभियान सञ्चालन गर्ने, लागु औषध प्रयोग घटाउनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, लागु औषध सेवनकर्ता तथा कारोबारीबारे प्रहरीलाई सूचना प्रदान गर्नेछ । पाण्डेले लागु औषध प्रयोगको समस्याले बिकराल रुप लिनसक्ने भएकाले त्यसको नियन्त्रणका लागि नागरिक र प्रहरीबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।