प्रचण्ड नेतृत्व सरकारको एक वर्ष ः प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस १०, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारको आज एक वर्ष पूरा भएको छ । २०७९ पुस १० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । लगत्तै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रतिबद्धता अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार कमजोर देखिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनामै अर्को गठबन्धन बनाउन पुग्नुभयो ।
कांग्रेसका सभापति शेरबहादुर देउवासँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि यो बीचमा प्रचण्ड यही गठबन्धनभित्र बेलाबेला देखिने गरेको किचलोमा अल्झिएको टीकाटिप्पणी हुँदै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रचण्ड नेतृत्वको सरकार सुशासन, विकास र सेवा प्रवाहमा कमजोर रहेको टिप्पणी गरेको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो तीन बजे उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । उहाँ गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिन प्रधानमन्त्ती प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।