जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् ः प्रधानमन्त्री प्रचण्ड

फागुन १, काठमाण्डौ ।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरी उहाँले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।
जनयुद्धले परिवर्तनको सपनालाई आत्मसात् गरेको, राजतन्त्रको अन्त्य तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनामा भूमिका रहेको उहाँको भनाई छ । उहाँले परिवर्तनको पक्षमा लागेर शहीद भएका प्रति श्रद्धाञ्जली, बेपत्ता व्यक्तिमा उच्च सम्मान र घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
‘जनयुद्ध’ दिवसको अवसरमा आज कतिपय ठाउँमा सार्वजनिक बिदा छ । आज रोल्पा, हुम्ला, रुकुमपश्चिम, गोरखा, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
विशेषगरी नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष वा मेयर जितेका पालिकामा आज सार्वजनिक बिदा छ । तर गृह मन्त्रालयले आज सार्वजनिक बिदा नरहेको यसअघि नै जानकारी गराइसकेको छ ।