“लगानीकर्तालाई स्वागत गर्न तत्पर छौँ”

सुर्खेत ६ फागुन ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सरकार लगानीकर्तालाई स्वागतका लागि तत्पर रहेको बताउनु भएको छ।

 प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबारबाट सुरु भएको कर्णाली उत्सव अन्तर्गत आज ‘लगानीको लगन’ सत्रमा वक्ताका रुपमा उपस्थित मन्त्री सिंहले कर्णालीमा लगानीकर्ताहरुलाई स्वागत गर्न चाहेको बताउनुभएको हो ।

मन्त्री सिंहले लगानी भित्र्याउने उद्देश्यले वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गर्न लागेको भन्दै ढुक्क भएर कर्णालीमा लगानी गर्न आउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । लगानीकर्ताको सुरक्षा र सहजताका लागि प्रदेश सरकार आफ्नो भूमिका खेल्न तयार रहेको उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन क्षेष्ठले उपयुक्त वातावरण सरकारले बनाईदिए लगानीका लागि लगन कुरिराख्न नपर्ने बताउनुभयो । कर्णालीमा लगानीका लागि सबैभन्दा ठूलो चुनौति आवश्यक भौतिक पूर्वाधारको कमी रहेको औँल्याउनुभयो।

उहाँले २०७४ पछि राजनीतिक परिवर्तन भए पनि व्यवसायीले अपेक्षा गरे अनुसार व्यवसायमैत्री वातावरण बन्न नसकेको जिकिर गुनासो गर्नुभयो ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले पनि लगानीका लागि सुरक्षित वातावरण पहिलो सर्त हुने बताउनुभयो ।  अब साना लगानी तथा उद्यमशिलताका लागि भने उद्यमी तयार गर्ने देखि नै बैंकको भूमिका हुनुपर्ने पौडेलले जोड दिनुभयो ।