सिम्ता गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, पाँच प्रतिबद्धता


सुर्खेत, ३० फागुन ।
सुर्खेतको सिम्ता गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा गुडअप्सन नेपाल सुर्खेतको सहजीकरणमा आर्थिक बर्ष २०८०÷०८१ अर्ध बार्षिक सार्वजनिक सुनुवाई मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले सिम्तावासीहरुलाई रोजगारीमा जोड्नका लागि चालु आर्थिक बर्षभित्रमै रोजगार रणनीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा सहभागी युवाहरुले रोजगारीका लागि गाउँपालिकाको नीति बारे प्रश्न गरेपछि अध्यक्ष चन्दले त्यसको जवाफमा तत्कालै रोजगार रणनीति निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष चन्दले फागुन ४ गते बस्ने कार्यपालिका बैठकमा रणनीति निर्माणका बारेमा एजेण्ड समावेश गर्न विद्यायन समितिलाई निर्देशन समेत दिनुभएको छ । उहाँले आगामी बर्षदेखि गाउँपालिकाबाट सञ्चालन गरिने विकास निर्माणका काममा स्थानीयलाई रोजगारी दिनेगरी योजना बनाउने बताउनुभयो । विदेशबाट फर्किएका युवाहरुलाई त्यहाँ सिकेको सीप प्रयोगगरी व्यवसाय सुरु गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको पनि बताउनुभयो ।

यस्तै सहभागीले उठाएका सवालका आधारमा सार्वजनिक सुनुवाईमा विभिन्न पाँच बुँदे प्रतिबद्धता गरिएको छ । चालु आर्थिक बर्षभित्रै रोजगार रणनीति निर्माण गर्ने, गौशाला व्यवस्थित गर्ने, सबै वडा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गर्ने, बाल विकास केन्द्रहरुको रेखांकनगरी पुन वितरण गर्ने तथा महिला स्वास्थ्य स्वंसेविका र आमा समूहका लागि प्रोत्सहानमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले गुणस्तरीय विकासका लागि सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिका भित्र संचालन हुने विकास निर्माण कार्यहरु आफ्नै लागि हुन भन्ने हेतुले सही तरिकाबाट निर्माण र प्रयोग गर्नुपर्नेमा उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले सिम्ता गाउँपालिकालाई डिजिटल प्रविधिमैत्री, छरितो सेवा र सुशासनयुक्त बनाउनका लागि अहोरात्र लागिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले लिएका लक्ष्य उद्देश्य पूरा गर्नका लागि कर्मचारी, जनप्रतिनिधि र सेवाग्राही नागरिक सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने, कृषि र पशु प्राविधिक सेवा प्रभावकारी बनाउनुपर्ने, तरकारी संकलन केन्द्र सञ्चालन गर्नुपर्ने, गौशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, विद्युतिकरण गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायतका विषयमा जिज्ञासा एवं सुझाव राखेका थिए ।