कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु


सुर्खेत, २१ चैत ।
कर्णाली प्रदेशमा एमालेलाई नेतृत्व दिने केन्द्रीय सत्ता गठबन्धन दलको सहमति कार्यान्वयन गर्न चुनौती दिँदै विश्वासको मत लिन कसिएका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः पदबाट राजिनामा दिनुभएको छ ।
केन्द्रीय सत्ता गठबन्धनको सहमति अनुरुप कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएपछि माओवादी संसदीय दलका नेता शर्माले बुधबार (हिजो) मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको हो ।
शर्मा २०७९ पुस २७ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रीय गठबन्धनमा आएको बदलावपछि दुई महिनामै एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो भने काँग्रेस सरकारमा सहभागी भएपछि शर्माले मुख्यमन्त्रीमा निरन्तरता पाउनुभएको थियो ।
शर्माले यस पटक पनि आफूले नै मुख्यमन्त्रीमा निरन्तरता पाउनुपर्ने अडान राख्दै आउनुभएको थियो । तर कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने केन्द्रमा एमाले माओवादीबीच सहमति भैसक्दा पनि शर्माले आफ्नो अडान कायमै राख्दै मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । एमाले माओवादीको ठूलै दबावपछि मात्रै शर्मा बुधबार राजिनामा दिन तयार हुनुभएको हो ।
बुधबार अपरान्ह बसेको प्रदेशसभा बैठकमा पदबाट राजिनामा दिएको घोषणागरी बाहिरिनेक्रममा शर्माले गठबन्धनको भावना अनुरुप राजिनामा दिएको प्रतिक्रिया दिनुभयो ।
शर्माले हिजो नै प्रदेश प्रमुख तिलक परियार सामु पनि आफ्नो राजिनामा बुझाउनुभएको छ । प्रदेश प्रमुख परियारले राजिनमा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ । सरकार गठनका लागि दाबि पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्म दिइएको छ ।
नयाँ सरकार गठनका लागि आह्वान भएसंगै गठबन्धनको निर्णय अनुसार नेकपा एमालेको नेतृत्वमा चाँडै नै सरकार गठन हुने नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाइको भनाई छ ।


कर्णाली प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । अहिले नेकपा माओवादी केन्द्रका १३ र नेकपा एमालेका सभामुखसहित १० प्रदेशसभा सदस्य छन भने एकीकृत समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । जसले गर्दा कर्णालीमा गठबन्धनको सहजै सरकार बन्न सक्ने सुविधा छ । तर दुई ठूला सत्ता साझेदारी दल माओवादी र एमालेबीचको पद बाँडफाँडले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने देखिएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रणसिंह परियारले भने गठबन्धनको मर्म र भावना अनुरुप नयाँ सरकार गठन हुने भएकाले आफ्नो पार्टीको कुनै सर्त र बटमलाईन नभएको बताउनुभयो ।
वर्तमान सत्ता गठबन्धनको सहजै सकार बन्नसक्ने एक मात्र प्रदेश कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढेको छ । तर सरकारको नेतृत्व लिनका लागि माओवादी र एमालेबीच देखिएको रस्साकस्सीले भने नयाँ सरकार गठनमा ढिलाई हुने संकेत देखिएको छ ।