डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

बैशाख १३, डोल्पा । हिमाली जिज्ला डोल्पामा आउँदो जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो ।
बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवम् स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । हरेक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्नेको घुईंचो लाग्छ । यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ ।
मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार रुपैयाँ तोकिएको छ । निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताउनुभयो । तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उहाँको भनाइ छ ।
डोल्पामा यार्साको व्यावसायिक रुपमा सङ्कलन शुरु २०४० सालदेखि भएको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट हरेक वर्ष ५० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ ।
सङ्कलकबाट बर्सेनि लाखौँ राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन । डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्छ ।