सुर्खेत, २६ जेठ ।
बेरोजगार युवाहरु रोजगारीको खोजिमा छन भने रोजगारदाताहरु श्रमिकको । तर दुबैले भने अनुसारको काम र श्रमिक पाउन नसक्दा रोजगारी सिर्जना हुन नसकेको पाइएको छ ।
श्रमाधान मेलाका सन्दर्भमा शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको कर्णालीमा रोजगारीका अवसर र चुनौती विषय संवाद कार्यक्रममा वक्ता र सहभागीबीचको छलफलले यस्तो देखिएको हो । छलफलमा वक्ताका रुपमा सहभागी सिद्धार्थ ग्रुपका अध्यक्ष समेत रहेका चेम्बर अफ कमर्श कर्णाली प्रदेशका अध्यक्ष चिन्तामणि न्यौपानेले आफ्नो कम्पनीमा दुई सय श्रमिक आवश्यक परेको तर खोजे अनुसार जनशक्ति पाउन नसकेको बताउनुभयो । यस्तै कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको लघु घरेलु औधोगिकग्राम सञ्चालक समितिका अध्यक्ष उदिराम डाँगीले सुर्खेतमा सञ्चालित औधागिकग्राममा तत्काल तीन सय जना श्रीमक आवश्यक परेकोमा पाउन नसकेको सुनाउनुभयो । वक्ताकै रुपमा सहभागी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले पनि आफूले सञ्चालन गरिरहेको अटो मोवाइल्स कम्पनीमा खोजेको जनशक्ति नपाएको बताउनुभयो । संवाद कार्यक्रममाल दर्शका रुपमा सहभागी युवाहरुले भने वक्ताहरुले भनेको कुरामा असहति जनाउँदै आफूहरुले रोजगारी नपाएको गुनासो गरे । ‘रोजगारीका लागि मान्छे पाएका छैनौँ भन्ने कुरा सुन्दा हास्यास्पद लाग्यो’ सहभागी दैलेखका सुरेन्द्र दर्लामीले भन्नुभयो, ‘म कृषि प्राविधिक हो रोजगारीका लागि धेरै ठाउँ गएँ काम पाउन सकेको छैन म कसरी उहाँहरुको कुरा विश्वास गरौँ ।’ जवाफमा चेम्बर अफ कमर्शका अध्यक्ष न्यौपानेले व्यवसायीले खोजेको सीपयुक्त जनशक्ति र युवासंगको भएको ज्ञानको तालमेल नमिल्दा शैक्षिक बेरोजगार उत्पादन भएको दाबि गर्नुभयो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कंडेलले बर्षेनी सरकारले विभिन्न व्यावसायिक तालिम सञ्चालन गरेपनि उक्त कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै रोजगारीको ग्यारेण्टिसहित निजी क्षेत्रसंग समन्वय गरेर आवश्यक तालिम दिनुपर्नेमा जोड दिनुभयो ।
लघु औधोगिक ग्राम सञ्चालक समिति अध्यष डाँगीले स्थानीय तहमा आवश्यक श्रमशक्तिको आधारमा मात्रै तालिम दिनेगरी सरकारलाई सुझाव दिएको बताउनुभयो । आगामी बर्षदेखि कर्णाली प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा रोजगारी सिर्जना हुने सुनिश्चिततासहित आवश्यकतामा आधारित तालिम सञ्चालन गर्ने बताउनुभयो । संवादमा सहभागी युवाहरुले अहिले निजी क्षेत्रले दिने रोजगारीमा न्यून पारिश्रमिक र समयमा नपाउने, पेशागत सुरक्षा नहुने तथा कामको सम्मान नहुने समस्या रहेको बताए । उनीहरुले व्यक्तिको आधारभूत आवश्यकतालाई हेरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, निश्पक्ष रुपमा रोजगारीका अवसर दिनुपर्ने उनीहरुको भनाई छ । संवादको सहजिकरण पत्रकार गोविन्द खत्रीले गर्नुभएको थियो ।