मानव सेवा आश्रमको प्रदेश स्तरीय भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ आयोजना गरिने

कात्तिक २९,सुर्खेत । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि  सुर्खेतमा महायज्ञ आयोजना गरिएको छ ।
आश्रमले आगामी मंसिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ आयोजना गरेको हो । आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा दिएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीका अनुसार त्यहाँ भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
आश्रमको भवन निर्माणका लागि ८ देखि १० करोड रुपैयाँ लाग्ने अनुमान छ । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने संयोजक केसीले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने छन् ।