नवराज रोकाय
सुर्खेत, मंसिर २० – कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेश सरकार, समुदाय, र नागरिक समाजको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
आज सुर्खेतको विरेन्द्रनगरमा लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अभियानको सन्दर्भमा आयोजीत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र महिलाको आर्थिक शशक्तिकरण एवम् स्याहार अर्थतन्त्र सम्बन्धी विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले समाजमा अझै पनि लैङ्गिक विभेद र हिंसाका घटनाहरू घटिरहनु दुःखद् रहेको भन्दै लैङ्गिक हिंसाले महिला, बालबालिका मात्र नभई, समग्र समाजको विकासमा बाधा पुगेको बताउनुभयो ।
लैङ्गिक हिंसा अन्त्य गर्न सरकारले कानूनी व्यवस्था, नीतिगत सुधार, र जनचेतना फैलाउने अभियानहरूलाई प्राथमिकतामा राखेको र यस्ता अभियानहरू केवल सरकारी प्रयासबाट मात्र सफल नहुने बताउनुभयो ।
सामाजिक विकासमन्त्री भण्डारीले हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सरकारको नीति, कानूनी कारबाही, र जनचेतनालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बालविवाहजस्ता हिंसाजन्य घटनाहरू समाजका लागि गम्भीर चुनौती भएको बताउँदै बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि नगरपालीकाले विशेष अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा, र महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यका लागि सरकारी नीतिहरू, कानूनी प्रावधानहरू, र सामुदायिक सहकार्यका विषयमा गहन छलफल गरीएको थियो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा संयूक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनकोे सहकार्यमा भएको कार्यक्रममा सहभागीहरूले हिंसामुक्त समाज निर्माणका लागि सबै क्षेत्रको एकीकृत प्रयास आवश्यक रहेको औँल्याएका थिए ।