वडा केन्द्रित अभियानमा जुट्यो एमाले चिङ्गाड


नेकपा एमाले चिङ्गाड गाउँ कमिटि वडा केन्द्रित तीन महिने अभियानमा जुटेको छ ।
नेकपा एमालेले देशैभर सुरु गरेको तीन महिने अभियान अन्तर्गत एमाले चिङ्गाड गाउँपालिका कमिटिले कार्ययोजना निर्माण गरेर अभियान सुरु गरेको हो । अभियान अन्तर्गत बिहीबार पालिका कमिटिको चौथो बैठक बसेर अभियानसम्बन्धि विभिन्न निर्णय गरेको छ । बैठकका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले नेकपा एमालेलाई निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि अभियानलाई सफल रुपमा संचालन गर्न निर्देशन दिनुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि एमालेलाई बलियो शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको उहाँको भनाई थियो । त्यसका लागि २०८४ मा दुई तिहाईसहितको निर्णायक शक्तिका रुपमा ल्याउन सबै पार्टी कार्यकर्ता अभियानमा सक्रिय पूर्वक लाग्नुपर्ने उहाँले निर्देशन गर्नुभयो ।
केन्द्रीय सदस्य ठम्मर बहादुर बिष्टले तीन महिने वडा केन्द्रीत अभियानलाई सफल पार्ने केन्द्र प्रदेश जिल्लादेखि पालिका,वडा हुँदै टोल कमिटी र हरेक कार्यकर्ताको दायित्व भएको बताउनुभयो । उहाँले पार्टीले थालेको अभियानलाई सफल पार्न सक्रियता लाग्न आग्रह गर्नुभयो ।
प्रदेश कमिटि सचिव ध्रुब कुमार शाहीले एमाले प्रति जनतालाई आकर्षित गर्नका लागि नेतादेखि कार्यकर्ता सबैले आचरण व्यवहार र अनुशासनमा सुधार गर्नुपर्ने बताउनुभयो ।
तीन महिने अभियान अन्तर्गत निर्माण गरिएको कार्ययोजना इमान्दारितापूर्वक कार्यान्वयन गर्नु हरेक कमिटिको दायित्व रहेको उहाँले जिकिर गर्नुभयो । एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले अभियानले जनसमुदायसँग पार्टीको सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पार्टीलाई बलियो निर्णायक शक्ति निर्माणका लागि हरेक कार्यकर्ता परिचालिन हुन निर्देशन दिनुभयो । एमाले नेतृत्वको सरकारले थ्रुप्रै जनमुखी काम गरेको भन्दै ती कामहरू जनतामाझ लैजान आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

बैठकमा कर्णाली प्रदेश कमिटि सचिवालय सदस्य खड्ग घर्ती, प्रदेश कमिटि सदस्य वखत बहादुर खत्री, जिल्ला कमिटि सदस्यहरु कविन्द्र कुमार केसी, बोधविक्रम जिसी, यामराज शर्मा, डिल बहादुर खत्री, गीता राना लगायतले अभियानका सन्दर्भमा आफ्ना भनाई राख्नुभएको थियो ।
पालिका कमिटिका अध्यक्ष टोपबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले वडा केन्द्रीत तीन महिने अभियानमा सक्रियतापूर्वक जुट्ने निर्णय गरेको छ ।