नवराज रोकाय
माघ २६ सुर्खेत, – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले पार्टीले सञ्चालन गरेको तीन महिने अभियानको एक महिना बितिसक्दा पनि जिम्मेवारी लिएका नेताहरू टिकटकमै रमाइरहेको भन्दै आक्रोश पोख्नुभएको छ ।
मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, मानव अधिकार एलायन्स कर्णाली प्रदेशको दोस्रो वार्षिक प्रदेश सभालाई सम्बोधन गर्दे इन्चार्ज बोगटीले आक्रोश व्यक्त गर्नुभएको हो ।
पार्टीले दिएको जिम्मेवारी बिर्सेर नेताहरू केन्द्रीय पार्टि कार्यालय च्यासल वरपर घुमिरहेका भन्दै संगठन सुदृढीकरण र अभियानलाई प्रभावकारी बनाउने जिम्मेवारी लिएर बसेका कतिपय नेता सामाजिक सञ्जालमै सीमित भएको बताउनुभयो ।
उहाँले पार्टीका कमी कमजोरी सुधार गर्दै पार्टिले लिएको लक्ष्य अनुसार ‘मिसन ८४’ सफल बनाउन तीन महिने अभियानलाई सार्थक बनाउनुपर्ने समयमा यस्ता प्रवृत्तिले पार्टीलाई बलियो नभई , कमजोर बनाउने तर्क व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोगटीले पार्टीका गतिविधिहरू जनस्तरसम्म र्पुयाउन मानव अधिकार एलाइन्सको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

सामाजिक र आर्थिक रूपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता : सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मानव अधिकार एलाइन्स कर्णाली प्रदेशका इन्चार्ज टिकाराम आचार्यले पछिल्लो राजनीतिक परिवर्तन पछि सरकारका कामलाई सफल बनाउन र सरकारका गतीविधी जनस्तरसम्म र्पुयाउन एलाइन्स सक्रिय रुपमा लागेको बताउनु भयो ।
इन्चार्ज आचार्यले पार्र्टीको तीन महिने अभियान सफल बनाउन सम्पूर्ण तहका सुभेक्षिक संगठनहरू विधान अनुसार अघि बड्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले समाज परिवर्तनका लागि आफू स्वयं परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख ढकालका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग गरी सरकारले गरेका कामको बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले सरकारले गरेका सकारात्मक कामहरूलाई तोडमोड गरी प्रचार गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने र सामाजिक सञ्जालको सही तरिकाले प्रयोग गरी पार्टीका गतिविधि र सरकारका कामलाई प्रचार गर्न नेता तथा कार्यकर्तालाई नगरप्रमुख ढकालले आग्रह गर्नुभयो ।
यस्तै मानव अधिकार एलाइन्स कर्णाली प्रदेशका अध्यक्ष नवीन कुमार शाहीले कर्णालीका ७९ पालिका मध्ये ३१ वटा पालिकामा मानव अधिकार एलाइन्स गठन भइसकेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका एलाइन्स अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा सुर्खेत, जाजरकोट, जुम्लाका अध्यक्षहरूले एलाइन्सको आगामी योजनाबारे महत्त्वपूर्ण सुझाव राखेका थिए।
