कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : प्रदेशको अवस्था बदल्नुपर्नेमा जोड

भदौ ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवस मनाएको छ । आज दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री लगायतले सम्बोधन गरेका छन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभयो । उहाँले प्रदेश स्थापनार्थ जीवन गुमाएका सहिदहरू सपना पुरा गर्न जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो । मुलुक संघीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तरमाथि उठेको प्रदेश प्रमुख जोशीको दाबी छ ।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिको यात्रामा कर्णालीवासीको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो ।
कर्णाली अझै पनि भौगोलिक विकटता, पूर्वाधारको कमी स्वास्थ्य तथा शिक्षा सेवामा असमानता, रोजगारी अभाव जस्ता चुनौतीबीच उभिएको उहाँको भनाइ छ ।
विकास, समृद्धि र सामाजिक न्याययुक्त कर्णाली साझा गन्तव्य रहेको बताउँदै मुख्यमन्त्री कँडेलले कर्णालीवासीको संयुक्त प्रयास, एकता र दृढ इच्छाशक्ति गन्तव्यसम्म पुग्ने मार्ग भएको औँलयाउनुभयो ।
यस्तै, कर्णाली प्रदेश सरकारले अघिल्ला वर्षहरूको निरन्तरतामा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो ।
यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रतिको सम्मानलाई थप विस्तारित गरेको छ ।
७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रेमराज सिमखडाले प्राप्त गरे भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तले हात पारेका छन् । यस्तै, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी र ओम शाहीलाई प्रदान गरिएको छ ।
त्यसैगरी, कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन् । यस पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा प्रदेश सरकारले हरेक वर्षजस्तै यसपटक पनि पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिएको जनाएको छ ।