जातीय विभेद विरुद्ध सुर्खेतका धर्मगुरु एकजुट

२७ पुष ,सुर्खेत । सुर्खेतका विभिन्न धर्मगुरु जातीय विभेद, छुवाछुत र लैङ्गिक हिंसाजस्ता सामाजिक अपराधविरुद्ध सामूहिक रूपमा अग्रसर हुने सहमतिमा पुगेका छन्।

दलित महिला सङ्घ सुर्खेतले आयोजना गरेको कार्यक्रममा सहभागी धर्मगुरुले कुनै पनि धर्मले विभेद र छुवाछुतलाई समर्थन नगरेको स्पष्ट गर्दै संस्कारका नाममा चल्दै आएका गलत अभ्यासलाई परिवर्तन गर्न आ–आफ्ना समुदायमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

मुस्लिम धर्मगुरु मौलाना बसिर चतुर्वेदीले मुस्लिम धर्ममा विभिन्न जात भए पनि जातकै आधारमा छुवाछुत र विभेद नहुने दाबी गर्नुभयो। उहाँका अनुसार मुस्लिम धर्ममा सबैलाई मूल रूपमा मुस्लिमकै रूपमा स्वीकार गरिने भएकाले एकै ठाउँमा बसेर खाने, काम गर्ने परम्परा रहेको छ। धर्मग्रन्थमा छुवाछुत र विभेदको उल्लेख नभएको भन्दै उहाँले यदि कहीँ विकृति देखिएको छ भने त्यसलाई हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
सबै जातजातिलाई धर्मसम्बन्धी समान शिक्षा दिइएको भए आज यस्तो विभेद नहुने उहाँको भनाइ थियो।

इसाई धर्मगुरु पास्टर प्रेमबहादुर नेपालीले पनि इसाई धर्ममा सबै मानिस मानवका रूपमा जन्मिने भएकाले कुनै भेदभाव नहुने जिकिर गर्नुभयो।

विश्व हिन्दु परिषद् सुर्खेतका अध्यक्ष परमानन्द रेग्मीले चेतना र शिक्षाको कमीका कारण समाजमा छुवाछुत र विभेद कायमै रहेको बताउनुभयो। उहाँका अनुसार समाज सञ्चालनका क्रममा कामका आधारमा गरिएको जात विभाजन नै पछि विभेदको कारण बनेको हुँदा यस्ता कुसंस्कार अन्त्य गर्न आवश्यक छ।

यस्तै, देउतीबज्यै मन्दिरका पुजारी जनकबहादुर राजीले विगतको तुलनामा अहिले छुवाछुत र विभेदमा कमी आएको भए पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको धारणा राख्नुभयो।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले छुवाछुत र विभेद अन्त्य गर्न धर्मगुरुको भूमिका महत्वपूर्ण हुने भन्दै समानता र सहअस्तित्वको सन्देश फैलाउन पहल गर्नुपर्ने सुझाव दिनुभयो।

राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका उपसचिव मानबहादुर कार्कीले जातीय विभेद र छुवाछुत सामाजिक अपराध भएकाले कानुनी रूपमा दण्डनीय रहेको उल्लेख गर्दै धर्मगुरुले आफ्ना धर्मावलम्बीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो।