
माघ १६, सुर्खेत । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत १३२ केभी प्रशसरण लाइन खण्डको निर्माण कार्यले पूर्णता पाएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन खण्डको निर्माण कार्य पूरा भएको प्रसारण लाइन आयोजनाले जनाएको छ । उक्त प्रसारण लाइन राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्नका लागि बाँकेको कोहलपुरमा सबस्टेसनदेखि सुर्खेतस्थित सुब्बाकुनामा निर्माण भएको सुर्खेत सबस्टेसनसम्म १३२ केभी डवल सर्किट प्रसारण लाइनबाट बिहीबारदेखि १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह परीक्षण गर्न लागिएको छ ।
आयोजनाले सुर्खेत सबस्टेसनमा विद्युत् चार्ज गर्न थालेसँगै प्रसारण आयोजना विस्तार भएका क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । परीक्षण अवधिभर उक्त प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावरको वरिपरि नजान, गाईवस्तुहरूलाई टावरको वरिपरि नछोड्न÷जान नदिन तथा खतरा संकेत जनाइएका विद्युतीय संरचनाहरूलाई नछुनुका साथै बालबालिकालाई समेत उक्त विषयमा सचेत गराउन स्थानीयलाई आयोजनाले आग्रह गरेको छ । साथै, परीक्षणको क्रममा कुनै स्थानमा झिल्का आएमा वा अन्य कुनै खतरा देखिएमा जानकारी गराउन समेत आयोजनाले आग्रह गरेको छ ।
दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असार २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। २०७८ असार २३ भित्र सकिनुपर्ने आयोजनाको काम चार वर्ष ढिला भएको हो। बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा भोगाधिकार, रूख कटान र स्थानीयको अवरोधले आयोजना चार वर्षपछि निर्माण सम्पन्न भएको हो ।
कर्णालीवासीको लामो समयको प्रतीक्षापछि आयोजनाले पूर्णता पाएको हो। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसुचारु भएपछि कर्णालीमा विद्युत् आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ । कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेसनमा विद्युत छोड्न लागिएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण आयोजनाका प्रमुख रविकुमार चौधरीले बताउनुभयो ।
विस्तारित विद्युत् प्रसारण लाइन उद्घाटन गर्नुअघि लाइन छोडेर परीक्षण गरिने उहाँको भनाइ छ । यसअघि ड्रोनले तार तान्ने क्रममा हरेक क्षेत्रमा अफ्ठ्यारो भू–गोल र बाक्लो हुस्सुका कारण काममा कठिनाइ भोग्नुपरेको चौधरी बताउँछन्। नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको टावर निर्माणमा तार तान्ने जिम्मा पाएको थियो। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार गर्न १३ हजार रूख काट्नुपरेको आयोजनाले जनाएको छ ।
