अति संवेदशील मतदान केन्द्र विशेष निगरानीमा

१७ माघ- गृह मन्त्रालयले देशभरका अति संवेदनशील मतदान केन्द्रमा निर्वाचन हुनु एक महिनाअघिबाटै निगरानी बढाएको छ। देशभर निर्धारण गरिएका १० हजार नौ सय ६७ मतदानस्थलअन्तर्गतका तीन हजार ६ सय ८० मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ। अतिसंवेदनशील ती केन्द्रलाई अहिलेदेखि नै अतिरिक्त निगरानीमा राखिएको हो।

अतिरिक्त निगरानीमा रहेका अधिकांश मतदान केन्द्र्र तराईका छन्। त्यस्तै चार हजार चार सय ४२ मतदान केन्द्रलाई सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएको छ । केही निर्वाचन क्षेत्र र मतदान केन्द्र एक महिनाअघिबाटै सुरक्षाका हिसाबले निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

सुरक्षा चुनौतीका आधारमा मतदान केन्दलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको छ। अतिसंवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको वस्तुस्थितिबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीले जानकारी लिइरहेका छन्।

अतिसंवेदनशील मतदान स्थलहरू मुख्यतः भौगोलिक विकटता, विगतका हिंसात्मक घटना र अन्य सुरक्षा जोखिमका आधारमा छनोट गरिएको हो।

गृह मन्त्रालयले अतिसंवेदनशील मतदानस्थलमा एउटा केन्द्र भएमा तीन जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटाउने भएको छ। थप केन्द्र भएमा प्रतिकेन्द्र दुई जना नेपाल प्रहरी र चार जना निर्वाचन प्रहरी खटाइने भएको छ। संवेदनशील स्थलमा आधारभूत रूपमा ३ जना नेपाल प्रहरी र ६ जना निर्वाचन प्रहरी खटाउने र थप केन्द्रमा समान दरले सुरक्षाकर्मी खटाउने योजना छ। सामान्य स्थलमा दुई केन्द्रसम्म ४ जना नेपाल प्रहरी र ९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ। यसमा सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिनेछन्।