डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर


माघ २१, डोल्पा । हिमाली जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ढुवानी गर्न भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नु परेको हो ।
जिल्लाका उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । पैदल हिँड्दा धेरै दिन लाग्ने भएकाले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताउनुभयो ।
‘माथिल्लो डोल्पाका गाउँबस्तीहरु भौगोलिक रूपमा निकै विकट छन्, सडक सञ्जालको पहुँच छैन,’ उनले भने, ‘पटकपटकको हिमपातले बाटाहरु बन्द छन्, चिसो उत्तिकै छ, पैदल जान समेत सम्भव छैन ।’
‘मतदान सामग्री समयमै सुरक्षित रूपमा मतदान केन्द्रमा पु¥याउन र कर्मचारीको आवतजावत सहज बनाउन हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ छन् ।
कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा चुनौतीका हिसाबले र तीन वटा मतदान केन्द्र राजनीतिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएको हो । भौगोलिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रहरू अधिकांश माथिल्लो डोल्पाका रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा कुल ३५५ जना नेपाल प्रहरी र ५७९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै ३÷३ सयकै हाराहारीमा नेपाली सेना र सशस्त्र प्रहरी बल समेत परिचालन गरिने कार्यालयले जानकारी दिएको छ ।