विकास र समृद्धिको चाहाना पूरा गर्न एमालेलाई भोट ः कंडेल


सुर्खेत, १ कात्तिक ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले नेपालीको विकास र समृद्धिको चाहाना पूरा गर्न एमालेलाई मत दिनुपर्ने जिकिर गर्नुभएको छ ।
मंगलबार सुर्खेतस्थित पार्टि कार्यालयमा आयोजित अखिल नेपाल महिला (अनेम) संघको भेलालाई सम्बोधन गर्दै कंडेलले यस्तो बताउनुभएको हो । नेकपा एमाले नेतृत्वको सरकारले विगतमा सुरुवात गरेका विकासलाई पूर्णता दिनका लागि पुन एमालेको सरकार आउनु पर्ने भन्दै त्यसका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । सुर्खेत निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेशसभा सदस्यका उमेद्वार समेत रहनुभएका कंडेलले रोग, भोग र अशिक्षाले पिछडिएको कर्णालीको मुहार फेर्नका लागि पनि एमालेको नेतृत्व आवश्यक हुने जिकिर गर्नुभयो । एमालेलाई हराएर काँग्रेसलाई जिताउन लागेको भन्दै सच्चा कम्यूनिष्टले माओवादी केन्द्र र एकीकृत समाजवादीका उमेद्वारलाई मतदात गर्न नहुने कंडेलले तर्क गर्नुभयो । माओवादी र समाजवादीले कम्यूनिष्टको मतको दुरुपयोग गरेको आरोप लगाउँदै कम्यूनिष्ट विचार बोकेका जनताले एमालेलाई मतदान गर्नुपर्नेमा कंडेलले जोड दिनुभयो ।