जुम्लामा माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु, पाँच बालबालिका अलपत्र


माघ २६, जुम्ला । जुम्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएपछि उनका पाँच बालबालिका अभिभावकविहीन अवस्थामा परेका छन् । हिमा गाउँपालिका–१, बड्कीकी करिब ३७ वर्षीया हाँसु विकको गत माघ १५ गते माटो कोर्ने क्रममा ढिस्को खस्दा मृत्यु भएको हो ।
घरबाट करिब एक किलोमिटर टाढा डाँडामा माटो कोर्न गएकी विक ढिस्कोले पुरिएपछि गम्भीर घाइते भएकी थिइन् । उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतकका श्रीमान् ददिमल विकले धार्मिक संस्कार पूरा गर्नुपर्ने र पाँच बालबालिकाको हेरचाह गर्न कठिनाइ भइरहेको बताउनुभएको छ । उहाँका अनुसार तीन वर्षदेखि १९ वर्ष उमेर समूहका पाँच सन्तानको पालनपोषण र सानो बालकको स्याहार गर्न समस्या भएको छ । स्थानीयवासीले पीडित परिवारका बालबालिकाको शिक्षा–दीक्षा र जीवनयापनका लागि सहयोगको अपिल गरेका छन् । आमाको अकाल निधनपछि परिवार र गाउँ शोकमा डुबेको छ ।