
२६ माघ,सुर्खेत । नेकपा एमाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कुलमणी देवकोटाले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ।
रेडियो कार्यक्रम कर्णाली बहस मा कुरा गर्दै नेता देवकोटाले जनताको उत्साहजनक समर्थन र एमालेको बलियो संगठन नै आफ्नो विजयको मुख्य आधार भएको बताउनुभयो। रेडियो बहसमा बोल्दै देवकोटाले सुर्खेत–२ मा नेकपा एमालेको जग तल्लो तहसम्म मजबुत रहेको उल्लेख गर्नुभयो। आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै देवकोटाले लामो समयदेखिको सामाजिक र राजनीतिक सक्रियतालाई नै जितको कडी मान्नुभएको छ।रेडियो कार्यक्रममा उहाँले भन्नुभयो “मैले दशकौँदेखि सुर्खेतको विकास र यहाँका नागरिकको सेवामा आफ्नो जीवन समर्पित गरेको छु। मेरो राजनीतिक निष्ठा र सामाजिक योगदानलाई सुर्खेत–२ का मतदाताले उच्च मूल्याङ्कन गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। मेरो सक्रियता नै मेरो जितको ग्यारेन्टी हो।”
क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वीरेन्द्रनगर, बराहताल, पञ्चपुरी र चौकुनेको सन्तुलित विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको उहाँको तर्क थियो। उहाँले कर्णालीको राजधानी समेत रहेको यस क्षेत्रको भौतिक पूर्वाधार, खानेपानी र शिक्षाको सुधारका लागि ठोस योजनाका साथ आफू मैदानमा उत्रिएको बताउनुभयो।
