कर्णालीका उच्च हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना

२७ माघ,सुर्खेत । आज कर्णाली प्रदेशसहित देशभरको मौसममा बदली आएको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण मौसममा बदली आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्नुका साथै ती क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। अहिले कर्णालीका पहाडी जिल्लाहरूमा बिहानैदेखि आंशिक बदली रहेको छ भने तराईका केही क्षेत्रमा कुहिरो लागेको छ। तत्काल ठूलो वर्षा हुने सम्भावना नरहेकाले वायुमण्डलमा तुँवालो जम्मा हुने र यसले वायु प्रदूषण बढाउन सक्ने देखिएको छ।
विशेषगरी तराई र उपत्यका क्षेत्रमा वायुको गुणस्तर खस्कन सक्ने अनुमान गरिएकाले स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरबाट जोगिन महाशाखाले सबैमा आग्रह गरेको छ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन गरिएको भए पनि कर्णालीका हिमाली जिल्लाहरूमा भने चिसो निकै बढ्ने अनुमान छ। अहिले नेपालमा पश्चिमी वायु कमजोर रहेकाले देशका अधिकांश भागमा आंशिक बदलीकै अवस्था रहने र तत्कालै भारी वर्षाको सम्भावना देखिएको छैन। तसर्थ, बढ्दो प्रदूषण र चिसोबाट बच्न मास्कको प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।