आइसिसी टी २० विश्वकप : भारत र पाकिस्तानले यथावत् तालिकामै खेल्ने


मुम्बई : पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकप २०२६ मा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्धारित तालिकामा नै यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। आइसिसी र पाकिस्तान क्रिकेट बोर्ड बीच भएको असमझदारीको समाधान भइसकेपछि यी दुई टोलीले पुन विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ ।
पछिल्ला केही दिनयता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बीच पाकिस्तानलाई भारतविरुद्धको खेल बहिष्कार नगर्न मनाउने उद्देश्यले तीव्र छलफल हुँदै आएको थियो । टी २० विश्वकपको सबैभन्दा आर्थिक रूपमा लाभदायक मानिने यो खेल बहिष्कारको धम्की फिर्ता हुनेमा आशा बढ्दै गएको थियो ।
सोमबार साँझ पीसीबी अध्यक्ष मोहसिन नक्वीले भारतविरुद्धको खेलबारे २४ देखि ४८ घण्टाभित्र निर्णय आउन सक्ने बताएका थिए । त्यसको केही मिनेटअघि आईसीसीले पनि वक्तव्य जारी गर्दै भारत भ्रमण गर्न अस्वीकार गरेपछि टी २० विश्वकपबाट बाहिरिएको बंगलादेशप्रति आफ्नो धारणा केही नरम बनाएको संकेत दिएको थियो ।
आइसीसीले बंगलादेशमाथि कुनै पनि जरिवाना नलगाइने स्पष्ट पनि पारेको छ । बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आइसीसी प्रतियोगिताको आयोजना अधिकारसमेत प्रदान गरिएको जनाएको थियो । लागि बङ्गलादेशले आइसिसीको नियमित होस्टिङ प्रक्रिया र मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ । यसलाई बङ्गलादेशको आयोजना क्षमता र क्रिकेट पूर्वाधारमाथि विश्वासको रुपमा हेरिएको समेत आइसिसीले बताएको छ ।