
फागुन ५ ,सुर्खेत । प्रहरीले लागुऔषध विरुद्धको अभियानअन्तर्गत हवाई फायर गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट ३६ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो को संयुक्त टोलीले गोप्य सूचनाका आधारमा फागुन ४ गते राति करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–८ क्षेत्रमा शंकास्पद व्यक्तिमाथि निगरानी गरेको थियो।
प्रहरीका अनुसार शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेका थिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि आत्मरक्षाका लागि प्रहरीले १ राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका–४ निवासी ४७ वर्षीय ललित चन्द रहेका छन्। उनको शरीर खानतलासी गर्दा प्रहरीले ३६ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। सुर्खेतमा पछिल्लो समय बरामद भएको लागुऔषधमध्ये यो उल्लेखनीय परिमाण भएको प्रहरीको भनाइ छ।
प्रहरीले चन्दविरुद्ध लागुऔषध ओसारपसार तथा कारोबार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उक्त लागुऔषध कारोबारमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले थप खोजी तथा अनुसन्धान जारी राखेको छ।
प्रहरीले लागुऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
