
फागुन २३,सुर्खेत । प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको प्रारम्भिक नतिजाले नेपाली राजनीतिमा गहिरो परिवर्तनको सङ्केत दिएको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक पुग्ने गरी अग्रता लिएको छ । समानुपातिक मतगणनाको प्रारम्भिक परिणामले पनि रास्वपाप्रति मतदाताको उत्साहजनक समर्थन देखाएको छ ।
यस चुनावको सबैभन्दा रोचक र असाधारण पक्ष भनेको दशकौँदेखि नेपाली राजनीतिमा प्रभाव जमाएका शीर्ष नेताहरू नै पराजयको जोखिममा पर्नु हो । प्रारम्भिक मतगणनाले नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अरु धेरै ठूला दलका शीर्ष नेताहरूको जित्ने सम्भावना कमजोर बन्दै गएको संकेत दिएको छ । सुरक्षित क्षेत्र खोज्दै रुकुम पुगेका प्रचण्डले जित हासिल गरिसक्नुभएको छ ।
मतगणना भइरहँदा एमालेका केपी शर्मा ओली, कांग्रेसका गगन थापा, राप्रपाका राजेन्द्र लिङदेन, मधेशवादी दलका उपेन्द्र यादव र सीके राउत लगायतका नेताहरु रास्वपाका उम्मेदवारभन्दा निकै पछाडि पर्दै गएका छन् । यसले नेपाली मतदाताले पुरानो राजनीतिक नेतृत्वप्रति कडा सन्देश दिएको देखिन्छ ।
दशकौँदेखि सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेशकेन्द्रित दलहरू यस चुनावबाट गम्भीर धक्का खाने अवस्थामा देखिएका छन् । ती दलहरू केवल सिट सङ्ख्यामा मात्रै होइन, राजनीतिक प्रभाव र जनविश्वासको हिसाबले पनि खुम्चिने अवस्थामा पुगेका छन् ।
संविधानले व्यवस्था गरेको मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलले स्पष्ट बहुमत ल्याउन गाह्रो हुने र त्यसले राजनीतिक अस्थिरता निम्त्याउने भन्ने बहस लामो समयदेखि चल्दै आए पनि अहिलेको प्रारम्भिक परिणामले भने त्यो बहसलाई नै चुनौती दिएको देखिन्छ । रास्वपा एकल बहुमततर्फ उन्मुख देखिँदा नेपालको राजनीतिक शक्ति सन्तुलन नै फेरिन सक्ने सङ्केत देखिएको छ ।
२०७९ को प्रतिनिधिसभा चुनावभन्दा पाँच महिनाअघि मात्रै स्थापना भएको रास्वपा छोटो समयमै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको थियो । त्यतिबेला प्रतिनिधिसभामा २१ सिट जितेर ध्यान खिचेको यो पार्टीले तीन वर्ष नपुग्दै भएको अर्को चुनावमा भने असाधारण जनसमर्थन प्राप्त गरेको छ ।
यो परिणामको मुख्य कारण केवल एउटा पार्टीको उदय मात्रै होइन । बरू लामो समयदेखि सत्ताको ‘म्युजिकल चेयर’ जस्तो देखिएको सत्ता परिवर्तन, भ्रष्टाचारका आरोप, दण्डहीनताको संस्कार, राज्य संस्थाहरूको दलीयकरण र शासनप्रति बढ्दो जननिराशा हो । यी सबै कारणले पुराना दलहरूप्रति नागरिकमा वितृष्णा बढेको देखिन्छ ।
यसपटकको चुनावमा अर्को महत्त्वपूर्ण पक्ष भनेको काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको प्रभाव पनि हो । यसका साथै मधेशी समुदायमा पहिलोपटक मधेशी प्रधानमन्त्री बन्न सक्ने सम्भावनाले पनि एक प्रकारको राजनीतिक रोमाञ्चता सिर्जना गरेको देखिन्छ । यही उत्साह र परिवर्तनको चाहनाले मतदातालाई नयाँ विकल्पतर्फ आकर्षित गरेको बुझाइ विश्लेषकहरूको छ ।
यद्यपि पुराना दलका केही नेताहरू भने सामाजिक सञ्जाल र सूचना प्रविधिको तीव्र विस्तारले जनमत निर्माणलाई अस्वाभाविक रूपमा प्रभावित बनाएको तर्क गर्छन् । तर तीन दशकभन्दा बढी समय शासन सञ्चालन गर्दा पुराना दलहरूले देखाएको स्वेच्छाचारिता, संस्थागत भ्रष्टाचार र प्रवद्र्रधन गरेको दण्डहीनताप्रति आक्रोशित नागरिकले यस चुनावमा मतमार्फत दण्ड दिएका विश्लेषकहरुको बुझाई छ ।
