कर्णालीमा मेघगर्जनसहित वर्षा र हिमपात हुने

फागुन २८ ,सुर्खेत  ।  आज कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार कर्णालीसहित सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको हो।

महाशाखाले दिएको जानकारी अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यस्तै मधेश प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज दिनभर कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, कोशी र मधेश प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।