इनिसा विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन

फागु २७,सुर्खेत । इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरेका छन्।

बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ लगायतका नारासहित उनीहरूले दबाबमूलक प्रदर्शन गरेका हुन्।

यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जना नाबालक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विक शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल सुर्खेत पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको दिन नै प्रहरीले एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। पीडित पक्षले फागुन २४ गते उजुरी दिएपछि सोही आधारमा अन्य १५, १६ र १७ वर्षका तीन किशोरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक इनिसा वीरेन्द्रनगरस्थित उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन्। आफन्तका अनुसार उनी ट्युसन पढ्न भनेर बिहान करिब ६ बजे घरबाट निस्किएकी थिइन्।

प्रहरीका अनुसार किशोरी बेहोस अवस्थामा भेटिएको स्थान विद्यालयभन्दा करिब १० किलोमिटर उत्तरतर्फ पर्ने जङ्गल क्षेत्र हो। घटनाबारे अनुसन्धानका क्रममा पक्राउ परेका एक किशोरसँग मृतकको प्रेम सम्बन्ध रहेको प्रारम्भिक बयानमा खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्।

प्रहरीका अनुसार किशोरले अनुसन्धानका क्रममा उनीहरू मर्निङ वाकका लागि गएको बताएका छन्। मर्निङ वाकको बहानामा जबरजस्ती करणीपछि हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

यद्यपि घटनाको वास्तविक कारण खुल्न पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले भने सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रदेश अस्पताल सुर्खेतमा पोस्टमार्टम सम्पन्न भए पनि हालसम्म शवको अन्त्येष्टि गरिएको छैन।