संसद वैठकमा कांग्रेसको अवरोध

सुर्खेत, २४ असोज (जागरण) । कर्णाली प्रदेशको संसद बैठकमा कांग्रेसले अवरोध गरेको छ । स्थगित भएको दुई महिनापछि सुरु भएको संसद बैठकमा कांग्रेसले अवरोध गरेपछि बैठक नै चल्न नसकेको हो । म‌ंगलबार दिउँसो १ बजे सभामुख राजबहादुर शाहीले बैठक सुरु भएको जानकारी गराउन नपाउँदै कांग्रेसका सांसदले अवरुद्ध गरेका हुन् ।
सभामुख शाहीले बैठक प्रारम्भ गर्नै लाग्दा कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले बोल्नका लागि समय माग गर्नुभयो । त्यसलगत्तै सांसद श्रेष्ठले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गर्नुभयो ।

गत साउन २५ गतेदेखि स्थगित संसद बैठक दुई महिनापछि आज बोलाइएको थियो । बैठक संचालनका लागि सहयोग गर्न सभामुखले कांग्रेस सांसदलाई पटकपटक आग्रह गर्नुभयो । तर कांग्रेसका सांसदहरुले नमानेपछि अन्ततः सभामुख शाहीले बैठक नै स्थगित गर्नुभएको हो ।

अब संसद वैठक आज बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

अब प्रदेशसभाको आफ्नै भवन
कर्णालीमा प्रदेश संसदको आफ्नै भवन तयार भएको छ । योसँगै संसदको बैठक आफ्नै भवनमा बस्न थालेको हो ।
यसअघि सिचाइँ डिभिजन कार्यालयको हलमा अस्थायी रुपमा बैठक बस्दै आएको थियो । संसद सुरु भएको करिब आठ महिनापछि प्रदेश संसदले स्थायी रुपमा आफ्नै भवन पाएको हो ।
वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रको भवनलाई नै संसदको स्थायी भवनका रुपमा प्रयोग गर्न थालिएको हो ।
यही भवनमा आवश्यक मर्मत, सुधार र रंङरोगनको काम सकिएपछि मंगलवारबाट संसद भवनको रुपमा प्रयोगमा आएको हो ।
करिब एक करोड २० लाख रुपैयाँ खर्चेर संसद भवनमा आवश्यक मर्मत तथा सुधारको काम गरिएको हो ।