कर्णालीमा योजना बनाउन सिकाउँदै योजना आयोग

सुर्खेत, १२ कात्तिक (जागरण) । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको विकासका लागि आवश्यक योजना निर्माणको अभ्यासबारे प्रदेश सरकारलाई सिकाउन शुरु गरेको छ ।
आयोगले कर्णालीको विकास योजना निर्माण र कार्यान्वयनबारे सरकार र सरकारका कर्मचारीलाई सिकाउन लागेको हो ।
आज त्यही कार्यशालाको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना निर्माणका लागि प्रदेश सरकारले विज्ञहरुको टोली नै खटाएर काम गर्ने बताउनुभयो । यो वर्षलाई योजना निर्माणको वर्षका रुपमा लिएको प्रदेश सरकारले विज्ञहरुको वैंक नै स्थापना गर्ने उहाँको भनाई छ ।

मुख्यमन्त्री शाहीले कर्णालीमा अब एकीकृत बस्ती बसाल्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । छरिएर रहेका बस्तीका कारण बजेट बढी खर्च हुने र विकास गर्न कठिन हुने भन्दै उहाँले एकीकृत वस्ती विकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै राष्टिय योजना आयोगका सदस्य सुशील भट्टले विकासका लागि स्रोतको मापन गरी योजनाहरुको संख्या बढाउनुपर्नेमा धारणा राख्नुभयो । योजनाको संख्या बढाएर मात्रै विकास नहुने उहाँको भनाइ छ ।

योजना आयोगले आईतबारदेखि वीरेन्द्रनगरमा आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा र अनुगमन, मुल्यांकन तथा तथ्यांकसम्बन्धी प्रदेशस्तरीय कार्यशाला आज पनि चल्नेछ ।