आज कुकुर तिहार, महत्वबारे जान्नुस् (अडियोसहित)

काठमाण्डौ, २० कात्तिक (जागरण) । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।
प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।
त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।
कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।
आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ । यसैबिच सहकर्मी चाँदनी कठायतले कुकुर तिहारको महत्वका विषयमा नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमसँग कुराकानी गर्नुभएकाे छ, सुन्नुस् यो कुराकानी (अडियाे) ।