सुखी कसरी भइन्छ ?

स्वामी आनन्द अर्हत ।
यहुदीहरूलाई जीवन जिउन दस नियम दिने मोजेजलाई कसैले सुख केमा छ ? भनेर सोधेछ। उनले दुवै हात माथि उठाएर आकाशतिर हेर्दै ईश्वरमा छ भन्ने इशारा गरेछन्। पछि बाइबलमा सबैभन्दा बुद्धिमान कहलिएका सम्राट् सोलोमोनलाई त्यही प्रश्न गर्दा उनले कञ्चटतिर औंलाले इशारा गरेछन्। उनको आशय बुद्धिमान मानिस सुखी हुन्छ, सुख बुद्धिमा छ भन्ने थियो। त्यसपछि जिसस आएछन् सुखको नयाँ परिभाषा लिएर।

उनले दुवै हात हृदयमा राखेर इशारा गरेछन्। उनले इशारामा हृदयमा प्रेम हुनु नै सुखी हुनु भन्ने बताए। त्यसको दुई हजार वर्षपछि कार्ल माक्र्स आए र उनले पेटतिर देखाउँदै सुखको नयाँ परिभाषा दिए। पेट राम्ररी भरियो भने सुख हुन्छ भन्ने उनको इशारा धेरैले बुझेजस्तो गरेछन्। यो इशारालाई लेनिन, माओले पछ्याए। त्यसलगत्तै फ्रायड आएर जनेन्द्रियतिर देखाउँदै त्यहाँ कुण्ठा र दमन छैन भने सुख हुन्छ भन्ने इशारा गरे। उनको यो व्याख्याले विश्व नै चकित भयो। चर्च र पादरीहरू उनको यो व्याख्याले खुब रिसाए। अर्कोतर्फ उनको ख्याति विश्वभरि बढ्दै गयो। यसैबेला यो कथाका अन्तिम नायक आइन्स्टाइन आइपुगे। आफ्नो सापेक्षतावादको सिद्धान्त प्रस्तुत गर्दै उनले भने, ‘यो सबै कुरा सापेक्ष हो।’

अशान्त र हीन ग्रन्थिले भरिएको मनुष्यले सुखको खोजमा ईश्वरदेखि जनेन्द्रियसम्मको यात्रा गरे पनि सुख के हो भन्ने भेउ अझै पाएको छैन। सुखपूर्ण तरिकाले जिउन बरु सरल होला, लेख्न भने त्यति नै गाह्रो छ। इतिहासविद् भन्छन्, मानव चेतनासँगै सुखको खोजको सुरुवात भयो। प्लेटो आफ्नो स्कुलमा असल जीवनकोे शिक्षा दिन्थे। अरस्तु मानवको उन्नतिको अर्थ के हो भन्ने पढाउँथे। उपनिषद्का ऋषिहरूले सुखरस नै परमात्मा हो भन्ने उद्घोष गरे। महासुखका लागि दुःखबाट मुक्त हुने कला बुद्धले सिकाए भने होस जगाउने कला कृष्णमूर्ति र ओशोजस्ता चेतनाहरूले सिकाए।

आफैंभित्र डुबुल्की मार्ने कलामा अधिकांश समय खर्चेर आफैंभित्र सुखको स्रोत छ भन्ने निष्कर्षमा पुगेको पूर्वीय दर्शनले सुख आफैंभित्र खोज्न प्रेरित गर्छ भने पश्चिमा दर्शनले बाहिरी अवस्थालाई उन्नत बनाउन सके सुखी हुन सकिन्छ भन्छ। पूर्व या पश्चिम, आधुनिक या पुरातन जे दर्शन भए पनि सुख र समृद्धिका यी एकांकी पथलाई समायोजन गरेर बाहिरी संसारमा ‘केही बनेर देखाउने’ र आफैंभित्र ‘शान्तिको अनुभव गरेर’ सन्तुलन खोज्ने प्रयास आजको समयको अकाट्य आवश्यकता हो।

आन्तरिक स्थिरता, कोमलता, शान्ति र स्वतन्त्रता हाम्रा आन्तरिक धन हुन्। अर्थात् यी गुणहरूको श्रीबृद्धिले हाम्रो जीवन ऊर्जा बढ्छ। मित्रहरू बढ्छन् भने जीवन पहिलेभन्दा सहज हुन्छ। यी गुणहरू सफल र सुखी जीवनका द्योतक हुन्। समाजमा अस्थिर मानिसहरूको संख्या बढ्नासाथ शासन व्यवस्था पनि कडा गर्नुपर्ने हुन्छ भने घरमा अस्थिर मानिसहरूको भीडभाडले कलह भइरहन्छ। लामो समयसम्म अराजकतामा टिक्ने प्राणी हामी होइनौं। सीमित ऊर्जा र समय लिएर आएको मनुष्यलाई यो सुविधा छैन। लामो समयको आन्तरिक अस्थिरताले हामीमा रुग्णता ल्याउँछ। हामीभित्रको आन्तरिक स्थिरताले कोमलता र शान्ति ल्याउँछ भने शान्तिले स्वतन्त्रताको द्वार खोल्छ। वास्तवमा यी गुणको विकास गर्न अनिच्छुक जस्तोसुकै व्यक्तिका लागि आफैंमा समस्या हुन्छ, चाहे त्यो ठूलो राजनेता होस् वा सामान्य परिचर। यस्तो अवस्थामा उसको आन्तरिक अस्तव्यस्तता र भ्रान्तिले उसको शक्ति सृजनशील हुन दिँदैन। नेपालको परिप्रेक्ष्यमा यो अवस्थाको साक्षी हामी बारम्बार भएका छौं।

हाम्रोे मस्तिष्कमा जीवन व्यवहारलाई नियन्त्रण गर्ने ‘भिड्ने’, ‘आराम गर्ने’ यी दुई फरक व्यवस्थाको उपयोग गर्ने प्रणाली प्रकृतिले बनाएको छ। खतरामा भिड्ने या भाग्ने र त्यसपछि शान्त हुने। पहिलो अवस्थाले गति दिन्छ भने दोस्रो अवस्थाले आन्तरिक गहनताको अनुभव गर्ने अवस्था सिर्जना गर्छ। पहिलो अवस्था आक्रामक हो भने अर्को जीवन रहस्यप्रतिको समर्पण। तर आज जहाँ पनि भिड्नुपर्छ, आक्रामक हुनुपर्छ, सधैं सफल भइरहनुपर्छ नत्र पछि परिन्छ भन्ने अतिशय महत्वाकांक्षामा समाज दीक्षित भइरहेको छ।

शान्ति अनुभवको साधना प्रतिपादन गर्ने बुद्धको जन्मथलो बाह्य चेतनामा रुमल्लिएको छ। हामी सबैले देखिरहेका छौं– अधिकांश मानिसको मानसिक स्वास्थ्य खस्किरहेको छ। स्वास्थ्य सेवा व्यापार बनेको आजको वास्तविकतामा मनलाई सन्तुलनमा ल्याउन हाम्रो मस्तिष्ककै अर्को ‘शान्त रहने’ सम्भावनालाई विकास गर्न त्यत्तिकै जरुरी छ।

केही समयअघि टाइम्स म्यागेजिनले ‘टायम गाइड टु ह्यापिनेस’ भन्नेमा केन्द्रित भएर विशेष संस्करण प्रकाशित गरेको थियो। त्यसमा दिइएका सल्लाह पालनै गर्न नसकिने खाले छैनन्। समयको समझदारीपूर्ण व्यवस्थापनमा सुखी जीवनको रहस्य लुकेको छ। जीवनमा निम्न पक्षहरूको उचित समायोजनलाई सुखी जीवनको वैज्ञानिक आधार मानिएको छ ः

हाम्रो भित्री जीवन, पारिवारिक र सामाजिक सम्बन्ध र व्यावसायिक जीवन। त्यसमा व्यायाम, भोजन र ध्यानलाई पनि लिइएको छ।

रहस्यमय जीवनलाई सुखी बनाउने सूची लामै हुन सक्छ। यहाँ त्यसका केही नैसर्गिक पक्षलाई समेटिएको छ।

—कुनै पनि काम समग्रताले गर्ने। भोजन गर्दा भोजनमै केन्द्रित हुने। रस, गन्ध, स्वाद र भोजन गर्दा प्राप्त हुने आनन्दमा समर्पित हुने। किताब पढ्दै, फोनमा कुरा गर्दै भोजन नगर्ने।

—शरीरसँगको सम्बन्ध नभुल्ने। नियमित व्यायाम नछोड्ने।

—चेतनालाई स्थिर राख्न ध्यानको अभ्यास गर्ने। यसले चेतनालाई अस्तित्व नै नभएको स्वप्नगत विगत र भविष्यमा दबेर जान दिँदैन। आनन्दको भित्री भाव अहिले उपलब्ध हुने रहेछ भन्ने बोध र अनुभव उदय हुन थाल्छ र अभ्यासले यो बढ्दै जान्छ। यसको उच्च अवस्था कुनै कारण खोज्न नसकिने अकारण आनन्दको अनुभव हुन थाल्छ। जीवनप्रतिको धन्यबोध बढ्छ।

—अफिसमा एकपटकमा एक काम हातमा लिने र समग्रताका साथ गर्ने। काममा लागेको समग्रताले त्यो कामको सफलताको नजिक पु¥याउ“छ।

—असफलताबाट नडराउने।

—होटेलमा गएर मेनुु हेरेर खाना मगाएजस्तो होइन जीवन। आफ्नै सिर्जनशीलता र कल्पनाशीलताको उपयोग गर्ने। केही क्षण भित्रबाट आनन्द प्राप्त हुने निजी क्षणमा आफूलाई तल्लीन राख्ने।

—कुनै पनि वस्तु हामीसँग हुँदा सुखी भइने होइन। सुख त त्यसको उपयोगिताले दिन्छ। एक मनोवैज्ञानिक तथ्य छ– जुन चिज हामीस“ग धेरै समयसम्म रहँदैन त्यसले लामो समयसम्म सुखको अनुभूति दिन्छ। परिवर्तनशील जीवनमा नया“ कुरा सिक्न तयार रहनाले हाम्रो मस्तिष्कलाई जीवन्त र जागरुक बनाइरहन्छ।
अन्नपूर्ण