४३ करोडको लगानीमा अस्पताल बन्दै

मगु, १४ वैशाख (जागरण) । मुगु जिल्ला अस्पतालको स्तरोन्नति थालिएको छ । करिब ४३ करोडको लगानीमा सुविधा सम्पन्न भवन निर्माण गरी अस्पताललाई २५ शैया बनाउन थालिएको हो ।
गत साल साउन अन्तिम साताबाट सुरु भएको अस्पताल निर्माणको करिब ४५ प्रतिशत काम पूरा भएको अस्पतालले जनाएको छ । अस्पताल निर्माणमा सहयोग गरिरहेको कोइकाका अनुसार ‘स्ट्रक्चर’ निर्माणको काम सकिएको छ ।
‘फिनिसिङ’को काम सुरु गरिएको छ । करिब ९ महिनाको अवधिमा ४५ प्रतिशत काम सकिएको कोइकाका इन्जिनियर मक्कबहादुर स्वाँरले बताउनुभयो ।
बाल मृत्युदर र मातृ मृत्युदर न्युनीकरण गरी सबैको पहुँचमा स्वास्थ्य सेवा र्पुयाउन अस्पताल निर्माण थालिएको कोइकाले जनाएको छ ।
अस्पतालका डा. डबल मल्लका अनुसार सुविधासम्पन्न अस्पतालको अभावले बिरामीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत र नेपालगन्जका अस्पतालमा पुग्नुपर्ने बाध्यता छ ।
अस्पतालले तीन गाउँपालिका र एक नगरपालिकाका बिरामीलाई प्रत्यक्ष उपचार सुविधा प्रवाह गर्ने जनाएको छ ।
अस्पतालको निर्माण कार्य सम्पन्न भएपछि फेरि कोइकाले नर्सिङ कलेज निर्माणका लागि आर्थिक सहयोग गर्ने इन्जिनियर स्वाँरले बताउनुभयो ।