कुष्टरोग प्रतिको बुझाई कर्णालीमा अझै पुरातन

सुर्खेत, १२ माघ (जागरण) । कर्णाली प्रदेशमा अझै पनि कुष्टरोगलाई सहजताका साथ नबुझ्ने गरिएको पाइएको छ । कुष्टरोगका विषयमा खुलेर कुरा नगर्ने र पुरातन सोच कायमै रहेको पाइएको हो ।
कुष्टरोग पूर्वजन्मको पापका कारण हुन्छ भन्ने गलत बुझाइले पीडितहरु उपचार केन्द्रसम्म नपुग्ने गरेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विनोद आचार्यले अझै पनि गलत सोच बाँकी रहेको बताउनुभयो ।
कर्णालीका दश जिल्लामा गत आर्थिक वर्ष २०७४/०७५ मा १ सय १५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले ६६ औं कुष्ठरोग दिवसको पुुर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांक अनुसार कर्णालीमा १ सय १५ जना नयाँ कुष्ठरोगी फेला परेका हुन ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका क्षय/कुष्ठ अधिकृत पदम केसीका अनुसार कर्णालीका तीन जिल्लामा नयाँ कुष्ठरोगी भेटिएका छैनन ।
जुम्ला, हुम्ला र डोल्पामा गत वर्ष शुन्य कुष्ठरोगी भए भने सबैभन्दा बढी नयाँ कुष्ठरोगी सल्यानमा फेला परेका छन् ।
सल्यानमा गत आर्थिक वर्षमा ३२ जना कुष्ठरोगी फेला परेको अधिकृत केसीको भनाई छ । त्यस्तै रुकुम पश्चिममा २१ जना फेला पर्दा जाजरकोटमा २४ जना तथा सुर्खेतमा २० जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
दैलेखमा ७ जना, कालिकोटमा १० जना नयाँ कुष्ठरोगी फेला पर्दा मुगुमा तीन जना फेला परेको उहाँको भनाई छ ।