सरकारी व्यवस्थापनमै चल्यो पानीजहाजः ६ घण्टा लाग्ने दुरी १५ मिनेटमा झर्‍यो

काठमाण्डौँ, २३ माघ (जागरण) । पहिलो पटक प्रधानमन्त्री हुँदा हालका प्रधानमन्त्री समेत रहनुभएका केपी ओलीले विभिन्न देशका समुन्द्रमा नेपाली झण्डा फर्फराएर पानीजहाज चलाउने बताउनुभएको थियो । साथै उहाँले नेपालका ठूला नदिहरुमा पनि मिनि पानी जहाज चलाउन सकिने बताउनुभएको थियो ।
प्रधानमन्त्रीले कार्यालय नै खोलेर पानीजहाजको टिकट काटिने बताएपछि ओली हाँसोको पात्र पनि बन्नुभयो ।
सामाजिक सञ्जालमा ‘पानीजहाजको टिकट कहाँ पाइन्छ ?’, ‘लु म चाहिँ हिँडे जहाजको टिकट काट्न’ लगायतका धेरै व्यंग्यात्मक स्टाटसहरुले सामाजिक सञ्जालका भित्ता रंगिने गरेको थियो । अहिले पनि धेरै नागरिकले यसलाई पत्याएका छैनन् । 
तर देशकै ठुलो सप्तकोशी नदीमा व्यावसायिक मिनी पानीजहाज संचालनमा आएको छ । अनि मिनी पानी जहाज चढ्नका लागि टिकट काट्ने काउन्टरको व्यवस्था पनि भएको छ ।
राष्ट्रिय झण्डा बोकेर मिनी पानीजहाज (जेटबोट) सप्तकोशीमा सञ्चालनमा आएको हो । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.ले जल यातायातलाई प्रवर्धन गरी पर्यटकहरुलाई आकर्षित गर्न जेट बोट संचालनमा ल्याएको छ ।
बोटबाट चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा जिल्लासम्म पुग्न सकिने कम्पनीका प्रबन्ध निर्देशक बिमलमान श्रेष्ठले बताउनुभयो ।
स्थानियहरुलाई यातायातमा सहजता हुने मात्र नभई बराहक्षेत्र दर्शन गर्न आउने भक्तजनहरुलाई पनि सुविधा हुने उहाँले बताउनुभयो ।
बोट ३ करोडको रुपैंया खर्च गरी ल्याईएको सञ्चालक समितिका अध्यक्ष सन्तोष भण्डारी बताउनुभयो ।
एक पटकमा जहाजमा ३० जना यात्रु र ३ जना क्रु मेम्बर (पाइलट र प्राविधिक) सवार हुनेछन् । यसअघि बराहक्षेत्रबाट धनकुटा, भोजपुरसम्म जानको लागि पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो ।
बराहक्षेत्रबाट उत्तर रहेको सिम्ले पुग्नको लागि करिव ६ घण्टा समय खर्चनुपर्ने बाध्यता छ । त्यती दुरी पार गर्दा एक जनाले एक हजार रुपैयाँसम्म खर्च गर्छन् । तर पानी जहाज सञ्चालनपछि ४ सय रुपैयामै सिम्ले पुगिने भण्डारीले बताउनुभयो । अहिले ६ घण्टा समय लाग्ने ठाउँमा अव १५ मिनेटमै पुग्न सकिने भएपछि स्थानिय नागरिक द‌ङ्ग परेका छन् ।

अनलाइनहरुको सहयोगमा