परम्परागत योजना निर्माणले विकास नहुने जनप्रतिनिधिकाे निष्कर्ष

सुर्खेत, ५ चैत (जागरण) । कर्णालीमा स्थानिय सरकारका प्रमुखहरुले परम्परागत योजना निर्माणले विकास नहुने निष्कर्ष निकालेका छन् ।
उनीहरूले योजना र बजेट कार्यान्वयनका लागि प्रक्रियागत योजनालाई प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग समेत गरेका हुन् ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिको संयुक्त बैठकले परम्परागत योजना निर्माणले कर्णालीको समृद्धि हासिल नहुने निष्कर्ष निकालेको हो ।
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिका सचिव खड्गराज सेजुवालले कतिपय योजना पहुँचका आधारमा छनोट गरिने भएकाले बजेट कार्यान्वयन गर्न नसकिएको बताउनुभयो ।


चालू आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा गर्दा प्रदेश सरकारले स्थानीय तहको सिफारिसलाई ध्यान नदिएको जनाएको छ ।
जसका कारण आर्थिक वर्ष सकिन लाग्दासमेत बजेट कार्यान्वयन हुन नसकेको उनीहरूको ठहर छ । आगामी वर्षको बजेट र योजना तर्जुमाका लागि स्थानीय सरकारसँग पर्याप्त छलफल र सहकार्यको व्यवस्था गर्न स्थानीय सरकारले माग गरेका छन् ।
बैठकपछि दुवै समितिका प्रतिनिधिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण–पत्र बुझाएका छन् ।