सुर्खेत, ९ चैत (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाले प्रदेश र संघ सरकारसँगको साझेदारीमा निर्माण गर्न लागेको वहुउद्देश्यीय खेलकूद रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
अघिल्लो वर्ष गाउँपालिकाको १० लाख रुपैयाँ वजेटबाट शुत्रपात गरी फिल्ड निर्माण गरिसकिएको रंगशाला क्रमिक रुपमा निर्माण गर्ने तयारी छ ।
डिपिआरअनुसार सिम्ता गाउँपालिका वडानम्वर ६ राकमको तीन विगाह क्षेत्रफलमा रंगशाला निर्माण गर्नका लागि करिव १८ करोड रुपैयाँ लाग्नसक्ने अनुमान गरिएको छ ।
गाउँपालिका एक्लैले सम्भव नहुने भएकाले रंगशाला निर्माणका लागि कर्णाली प्रदेश सरकार र केन्द्रिय सरकारसँग वजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिनुभयो । रंगशालाका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाहीले केन्द्रीय सरकारमा प्रस्ताव पेश समेत गरिसक्नुभएको छ ।
डिपिआरअनुसार रंगशालामा सुरक्षित र सुविधायुक्त दर्शक दिर्घा, स्वच्छ खानेपानी र शौचालय, सवारी पार्किङ्ग हुने छ भने रंगशालामा फुटवल, क्रिकेट, भलिवल, व्याडमेन्टनलगायतका खेलकूद हुनेछन् ।
यस्तै हाल अर्को ठाउँमा सञ्चालन गरिएको जिम क्लवलाई रंगशालाभित्रै ल्याई सञ्चालन गर्ने तयारी छ ।