कर्णालीको राजधानीमा हर्न निषेध

सुर्खेत, २६ वैशाख (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रमा सवारी साधनको हर्न बजाउन नपाइने भएको छ । बजार क्षेत्रमा जथाभावी हर्न बजाउँदा ध्वनी प्रदुषण हुने भएपछि हर्न निषेध गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको सडक सुरक्षा अभियान अन्र्तगत कुनैपनि सवारी साधनले हर्न बजाउन पाइने छैन ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर विसीकाअनुसार हर्नमात्रै नभई अत्यधिक ठूलो आवाजमा चल्ने सवारीलाई पनि नियमन गरिनेछ ।
साथै मोटरसाईकलको पछाडी बस्ने व्यक्तिले पनि अनिवार्य रुपमा हेलिमेट लगाउनुपर्ने नियम पनि लगाइने भएको छ । सुर्खेत जिल्लामा हाल २० हजार १ सय ५१ सवारी साधन सञ्चालनमा रहेको टाफिक प्रहरीले जनाएको छ ।
यसैबीच, सुर्खेतमा सवारी दुर्घटनाको दर पनि बढेको छ । बढ्दो सवारीको चाप, क्षमता भन्दा धेरै यात्रु राख्ने, चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटना बढेको हो ।
अघिल्लो आर्थिक बर्षमा ४१ दुर्घटना भएकोमा यो आर्थिक वर्षको हाल सम्म ३९ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
दुर्घटनामा परी १ सय ३९ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । १८ महिला र ६ पुरुष गरी २४ जनाको मृत्यु भएको छ ।
यसैविच ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको हालसम्म विभिन्न सवारी जरिवानाबाट १ करोड २७ लाख ४४ हजार रकम संकलन गरिएको जनाएको छ । प्रहरीको तथ्यांक अनुसार बैशाख २४ गतेसम्म २१ हजार ४ सय ९१ वटा सवारीधनी कारबाहीमा परेका हुन् ।