यार्साबाट ९० लाख राजश्व

खड्क सुनार ।
मुगु, २१ जेठ (रेडियो सौर्यदय) । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिकाले यार्सा संकलकबाट ९० लाख राजश्व उठाएको छ । दुई नम्बर क्षेत्रमा पर्ने यार्सा पाटनमा गएका संकलनकर्ताबाट पालिकाले राजश्व उठाएको गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिनुभयो ।
मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँका आधा दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । संकलनकर्ताबाट प्रति व्यक्ति २ हजार र बाहिर जिल्लाबाट पुग्नेहरुबाट २ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क उठाएको थियो ।
मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठुलोकोखि, स्यानोकोखि, चाल्ने, टाँके र हङ्गदङ्ग खोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सकंलनकर्ताबाट गाउँपालिकाले जेठ १३ गते देखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको थियो । यो वर्ष जिल्लाभित्र र बाहिरबाट ४ हजार संकलनकर्ता पाटन क्षेत्र प्रवेश गरेका छन् ।