नेपालको आर्थिक वृद्धीदर विस्तार हुन थालेको विश्व बैँकको ठहर

काठमाण्डौँ, २३ जेठ (जागरण) । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ७ दशमलब १ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आज नेपालको अर्थतन्त्रको प्रतिवेदन काठमाडौंमा सार्वजनिक गर्दै सेवा र कृषि क्षेत्रमा आउने सुधारका कारण आर्थिक वृद्धि ७ दशमलब १ प्रतिशत हुने जनाएको हो ।
यस वर्ष सेवा र कृषि क्षेत्रतर्फको वृद्धिदर ७ दशमलब ५ प्रतिशत हुने अनुमान विश्व बैंकको छ । विश्व बैंकले दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न सक्ने संभावना रहेको समेत जनाएको छ ।
४ दशमलब १ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान गरेको बैंकले कमजोर सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद यो आर्थिक बृद्धि हासिल गर्ने प्रक्षेपण गरेको हो ।
पर्यटकको संख्यामा आएको वद्धि, निजी लगानीमा भएको विस्तार एवं विद्युत आपूर्तिमा भएको सहजताले नेपालको अर्थतन्त्रले गति लिएको प्रतिवेदनमा औँल्याइएको छ । अर्थतन्त्रले लय समातेको ठहर बैंकले गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रतिवेदनले औल्याएका सुझाव र प्रक्षेपणको स्वागत गर्दै संघीयता संस्थागत गर्ने चुनौती रहेको बताउनुभएको छ ।
उहाँले उच्च अंकको आर्थिक वृद्धि हाँसिल गर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत सुधार गर्दै आएको बताउनुभएको छ ।