कर्णालीमा प्राकृतिक विपत् (कहाँ के भयो ? हेर्नुहोस्)

सुर्खेत, ८ साउन (जागरण) । अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएका छन् ।
कर्णालीका धेरै जिल्लामा साना ठूला पहिरो गएका छन् भने कतिपय ठाउँमा डुवानले समस्या सिर्जना गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ र १० का तल्लो तटिय क्षेत्रमा डुवान भएको छ ।

सुर्खेतको डुवान क्षेत्र । फोटोः युवराज पंगाली

डुवान क्षेत्रमा स्थानिय नागरिक, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार गरेका छन् । मानविय क्षति भने भएको छैन ।
यसैबीच, वर्षाले कर्णाली राजमागका विभिन्न सडक खण्ड अबरुद्ध गराएको छ । सुर्खेतदेखि कालिकोट, जुम्लालगायतका जिल्लामा जाने कर्णाली राजमार्गको दैलेख सडकखण्ड पहिरोले भत्केपछि यात्रुहरु अलपत्र परेका छन् ।
भीषण वर्षाका कारण आएको पहिरोले ठाउँ–ठाउँमा सडक पुरिएपछि र सडक खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । गुराँस गाउँपालिका–४ रतिखोलाको निर्माणाधीन पुलका लागि खनिएको खाल्डोको कारण करिव २५ मिटर सडक भत्किएर खोलाको बगर बनेको छ ।
त्यस्तै तल्लो डुंगेश्वरदेखि पाली हुँदै पाल्तडासम्मको क्षेत्रमा पनि पहिरोले सडक पुरिएका कारण यातायात सेवा अवरुद्ध भएको छ । कर्णाली राजमार्गको सुर्खेत–बड्डीचौर हुँदै तल्लो डुंगेश्वरसम्मको क्षेत्रमा कम बस्ती, साँघुरो सडक र दूरीका हिसाबले २८ किलोमिटर लामो पर्ने भएकोले पनि सुर्खेतबाट दैलेखको गुराँसे हुँदै सियाकोट जाने बाटोमा यात्रुवाहक बस, जीप, मालवाहक ट्रकहरु थुप्रिएका छन् ।
त्यस्तै जुम्ला–कालिकोटबाट सुर्खेत जान हिँडेका यात्रुवाहक बस, जीप, मालवाहक ट्रक, र राराबाट फर्किएका पर्यटकसहित यात्रुहरु दैलेखको पाल्तडामा रोकिएका छन् । दैलेखको पूर्व–पश्चिम जोडिएको मध्यपहाडी राजमार्गको ग्राभेल पूर्ण नुहँदा विकल्प प्रयोग गर्न नसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बास्कोटाले सियाकोट–तल्लो डुंगेश्वर, पाल्तडा हुँदै कालिकोट र जुम्लासम्म सडक खुलाउन विभागको एउटा डोजरसहित काम थालिएको जानकारी दिनुभयो ।