कर्णालीका सवै जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

काठमाण्डौँ, २३ साउन (जागरण) । कर्णाली प्रदेशका सवै जिल्लाहरु विजुलीको राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय प्रशारण लाइन नजोडिएका कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा पहल भइसकेको बताउनुभएको छ ।
तत्काल विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको मन्त्री पुनले बताउनु भयो । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
जुम्ला लगायत धेरै जिल्लामा विद्युत् आपूर्तिमा पटक पटक आउने समस्याबारे आफूहरूलाई जानकारी रहेको बताउँदै मन्त्री पुनले जुम्लामा ३३ केभिए प्रशारण लाइनका लागि यसै वर्ष दैलेखदेखि जुम्ला जोड्नेगरी ट्रान्समिसन लाइन निर्माण गर्ने बताउनुभयो । त्यसका लागि टेन्डर गरेर पनि छनोट भइसकेको भन्दै उहाँले दुई वर्षभित्र प्रशारण बनिसक्ने बताउनुभयो ।