डेङ्गुको प्रकोप फैलिन नदिन सल्यानमा उच्च सतर्कता

बुद्धिमान पुन
सल्यान, २८ भदौ (रेडियो राप्ती) । डेङ्गुको प्रकोप फैलिन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
छिमेकी जिल्लाहरु दाङ, सुर्खेतमा डेंगुका बिरामीहरु भेटिएसंगै यसको प्रकोप फैलिन सक्ने भन्दै जिल्ला अस्पताल सल्यानले उच्च सतर्कता अपनाइएको जनाएको हो ।
विषेगरी श्रीनगर, कालीमाटीसँगै शारदा नदि करिडोरको वस्ती संक्रमणको जोखिममा रहेको अस्पतालका प्रमुख डाटर अर्जुन बुढा मगरले बताउनुभयो ।
यस बाहेक यसको संक्रमण जिल्लाभर नै फैलन सक्ने भन्दै चेतनामुलक कार्यक्रम संचालन गर्न थालिएको उहाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सल्यानमा अहिलेसम्म डेंगु संक्रमित बिरामीहरु भेटिएका छैनन् । विशेषगरी एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेपछि एक्कासी ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी तथा टाउँकोको पछिल्लो भाग दुख्ने, शरिरमा विमिरा आउने, रक्तश्राव हुने, लगायतका लक्षण देखा पर्छन् ।
यदी त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गर्न बुढा मगरले आग्रह गर्नुभयो ।
तर जिल्ला अस्पताल सल्यानमा डेङ्गु संक्रमण परीक्षण गर्ने किट नै नभएको पाइएको छ । प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये मानिसको रगत किटबाट परीक्षण गरी डेङ्गु भएनभएकोे पत्ता लगाइन्छ । जिल्ला अस्पतालमा त्यो किट नभएको जनाइको छ ।