२७ लाखको क्याम्पस भवन पाँच वर्षदेखि प्रयोगविहीन

रुकुम–पश्चिम, २० वैशाख (जागरण) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित जहारी क्याम्पसका दुई भवन निर्माण भएदेखि नै प्रयोगविहीन भएको पाईएको छ ।
२०७० सालमा विश्वविद्यालय अनुदान आयोगको २७ लाख ५० हजार रूपैयाँ खर्चेर निर्माण भएका उक्त भवन पाँच वर्ष बितिसक्दा पनि प्रयोगमा नआएका हुन् ।
लामो समयदेखि भवन प्रयोगविहीन रहँदा यी भवन दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । क्याम्पसले शिक्षा संकाय र विज्ञान संकाय गरी दुई ठाउँमा सञ्चालन गर्ने उद्देश्यका साथ नगरपालिका १० को चिन्नेबगर र ११ को टाटामा निर्माण भएको हो ।
टाटामा निर्माण भएको भवन हाल क्याम्पसले प्रयोगमा ल्याइसकेको भए पनि चिन्नेबगरमा निर्माण भएको दुई भवन भने प्रयोगविहीन भएका छन् ।
क्याम्पसले अध्ययन गराउदै आएको विज्ञान संकाय नै हटेपछि चिन्नेबगरमा निर्माण भएका भवन प्रयोगमा ल्याउन नसकेको जहारी क्याम्पस प्रमुख सुदर्शन शाहले बताउनुभयो ।
विज्ञान संकायमा भर्ना हुन विद्यार्थी नआएपछि विज्ञान संकाय खारेज भएको उहाँको भनाई छ ।
क्याम्पसको अन्य कामको लागि भए पनि प्रयोगमा ल्याएर भवनको सदुपयोग गर्ने उहाँले बताउनुभयो ।